काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति अहिले डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको दाबी गरेका छन् । उनले डेलिभरी दिन नसक्दा राजनीतिप्रति आम जनताको वितृष्णा पैदा भएको बताए । उनले भने,‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ। यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ।’
युवासँग जनप्रतिनिधि कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पुस्ताले अब देशको नेतृत्व गर्ने पनि धारणा राखे । प्रमुख दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललगायतले राजनीतिबाट विश्राम लिनुपर्ने थापाको सुझाव छ ।
उनले पाका नेताले राजनीतिबाट विदा लिए आफू धेरै खुशी हुनेपनि तर्क गरे । शीर्ष नेताहरुले राजनीतिमार्फत देशलाई डोर्याएर यहाँसम्म ल्याएकोमा भने सम्मान व्यक्त गरे । उनले पाका नेताहरुको भूमिकाको सधैं सम्मान गर्ने भन्दै राजनीतिबाट विदा हुनको लागि आफूले अवमूल्यन गरेर नभनेको जिकिर गरे ।