काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्याङ्कन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ ।
सशस्त्रका डिएसपि एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा एक जना र सशस्त्र प्रहरी नायब उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको जानकारी दिनुभयो ।
जेष्ठता तथा व्यावसायिकक्षमता तथा कार्यसम्पादन मूल्याङ्कन लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको बृत्तिविकास र सुरक्षा फौजको मनोवलमा हौसला वृद्धि हुने विश्वास गरिएको छ ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरु रहेका छन् भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरु तेस्रो ब्याच, सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याचबाट जेष्ठता, व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरु ९ औं ब्याचका रहेका छन् ।
सशस्त्रका डिएसपि थापाका अनुसार मुख्यालयले बढुवा हुनका लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा १५ दिनभित्र बढुवा फारम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको थियो ।
बढुवा मूल्याङ्कन फारामका लागि योग्य उम्मेदवारले आफुले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो ।