काठमाडौँ । सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग, बिरामी तथा मृतकका आफन्त र अन्य कल्याणकारी कार्यका लागि एक अर्ब ८५ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगार बोर्डले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०८१र८२ मा एक हजार ५१७ जना वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका आफन्तलाई एक अर्ब दुई करोड ३४ लाख रुपियाँ आर्थिक राहत वितरण गरेको जानकारी गराएको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले गत आवमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग र बिरामी भएर आएका ८६७ श्रमिकलाई २४ करोड ९९ लाख रुपियाँ सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।
बोर्डले यस्ता व्यक्तिको अवस्था र विशेषज्ञ चिकित्सकले गरेको सिफारिसका आधारमा न्यूनतम ५० हजारदेखि अधिकतम १० लाख रुपयाँसम्म राहत रकम उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभयो । गत आवमा मात्रै विभिन्न देशबाट आएका एक हजार ८६ वटा शव ढुवानी गरेर मृतकको घरसम्म पु¥याउँदा मात्रै तीन करोड २५ लाख रुपियाँ खर्च भएको तथ्य बोर्डले सार्वजनिक गरेको छ ।
यस्तै यस अवधिमा वैदेशिक रोजगारमा समस्या परेका २२५ जना श्रमिकको उद्धार तथा खोजतलास गर्दा ११ लाख, ४१८ वटा शव झिकाउँदा तीन करोड २५ लाख रुपियाँ खर्च भएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर खालका स्वास्थ्य समस्या भएमा ५० हजार रुपियाँसम्म आर्थिक सहयोग गर्ने व्यवस्था अनुसार ४४२ श्रमिकका परिवारको औषधोपचारका लागि एक करोड ६८ लाख रुपियाँ खर्च भएको छ ।