काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजामति सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नताको आशंका परेका छन् । आज ९शनिबार० सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, उनले जाल, झेल, ठगी, भ्रष्टाचार, बेइमानी वर्तमान सरकारको परिभाषाजस्तै भएको बताए । कुलिङ अफ पिरियडमा भएको छेडखानी सच्याउन सबै सांसदहरुले राष्ट्रिय सभामा संशोधन हाल्ने भनिए पनि अहिले एमालेका सांसदहरु कुलिङ अफ पिरियड नै हटाउनुपर्ने पक्षमा उभिएको उनले स्मरण गरे । कुलिङ अफ पिरियडमा लास्टमा गएर एमालेले म्याउँ गरेको उनको भनाइ छ । कुलिङ अफ पिरियडमा भएको छेडखानीको जिम्मा प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताए ।
‘मैले संसदीय छानविन समितिलाई भनेको छु– शंकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर, ठोस रुपमा भन्ने आधार थिएन । अहिले एमालेका सांसदहरुले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानविनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं । हाम्रा माननीय सदस्यहरुले सदनमा पनि उठाउनुभएको छ,’– उनले भने ।