लमजुङ । लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको गेटसँगै पर्खाल भत्किएपछि त्यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ। सम्भावित भौतिक तथा मानवीय जोखिम र तत्काल पुननिर्माण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कारागार व्यवस्थापन विभागको निर्णय बमोजिम लमजुङ कारागारमा रहेका पुरुष १ सय २ जना थुनुवा तथा कैदीहरुलाई अन्य जिल्लामा लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए।
शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षासहित तनहुँको दमौली कारागारमा ६ जना महिला सहित ३० जना र पोखरा कास्की कारागारमा ७८ जना स्थानान्तरण गरिएको छ। जिल्लामै बस्नु पर्ने माग राख्दै आएका कैदीबन्दीसँग लामो छलफल, अन्तक्र्रिया पश्चात भएको लिखित प्रतिबद्धतापछि उनीहरु शनिबार स्थानान्तरण हुन सहमत भएका थिए।
कारागारको मर्मतपछि उनीहरूलाई फेरि लमजुङ ल्याइने छ। अन्यत्र जिल्लामा रहँदा एउटै ब्लकमा रहने गरी सम्बन्धित जिल्लाका प्रजिअ र कारागार प्रशासनसँग समन्वय गर्ने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। कारागार प्रशासक बेनीबहादुर मुक्तानका अनुसार जिल्ला कारागारको करिब ३ मिटर पर्खाल भत्किएको छ।
जिल्ला कारागार लमजुङमा १० जना महिला र २५ जना पुरुष गरी ३५ जनाको क्षमता भए पनि यतिखेर तेब्बर भन्दा बढी १०८ जना कैदी र थुनुवाहरु रहेका छन्। विस २०२८ सालमा कुन्छाबाट सदरमुकाम सरेर बेंसीसहर आएको समयमा नै निर्माण गरिएको यस कारागारको समय समयमा मर्मत सम्भार गरिएको भए पनि हालसम्म पूर्णरूपमा मर्मत सम्भार हुन सकेको थिएन।