काठमाडौँ । आजबाट नयाँ आर्थिक वर्ष २०८२र८३ सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत लिएका नयाँ नीति र नयाँ कार्यक्रमहरू आजैबाट कार्यान्वयनमा जाने भएका हुन् । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्था बमोजिम गत जेठ १५ गते २०८२/ ८३ का लागि बजेट ल्याएका थिए । उक्त बजेट दुवै संसदबाट पारित भइसकेको छ । तर नयाँ आर्थिक वर्षअघि नै बजेट कार्यान्वयनको लागि पारित भए पनि नयाँ आर्थिक वर्ष आजबाट सुरु भएसँगै उक्त बजेट कार्यान्वयनमा गएको हो ।
अर्थ मन्त्रालयले बुधवार नै नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनका लागि बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ । आज बाट सबै मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरी सकेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना सहित बजेट ल्याएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोरिने लक्ष्य लिएको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने लक्ष्य राखेको छ । सरकारले लिएका यी सबै लक्ष्य आजदेखि नै कार्यान्वयनको चरणमा गएका छन् ।