काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले शुक्रबार९साउन २० भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई ज्ञापनपत्र बुझाउने भएको छ । भ्रष्टाचारका काण्डहरू बढ्दै गएको भन्दै राप्रपाले प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा शुक्रबार अख्तियारको कार्यालय पुग्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रूपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चालन गर्नेछ ।
\सरकारका मन्त्रीहरू र उच्च पदस्थ कर्मचारीहरू एकपछि अर्को भ्रष्टाचारका काण्डमा संलग्न भइरहेको घिनलाग्दो समाचारहरू दिनहुँजसो आइरहेको छ,बुधबार प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,यसै परिप्रेक्ष्यमा राप्रपाले साउन २ गते शुक्रबार दिउँसो १. ०० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका सबै काण्डहरूको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन आयोगको केन्द्रीय कार्यालय टंगालमा भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम तय भएको छ । भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बन्न राप्रपाले आग्रह समेत गरेको छ ।