काठमाडौं। नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार जहाँ जहाँ पुगेको छ त्यहाँ त्यहाँ भ्रष्टाचार भएको दाबी गरेका छन् । उनले सरकारमा सहभागी मन्त्रीहरु नै सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डीलमा सहभागी भएको कुरा बाहिरिएको बताउँदै प्रधानमन्त्री ओलीको भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने नारालाई जनताले जाली ठानेको दाबी गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा आज संसद्मा सम्बोधन गर्दै प्रचण्डले आफ्नै क्याविनेटका मन्त्रीहरु घुस डिलमा सामेल भएपछि अब चित्रगुप्तलाई के जवाफ दिने रु भनेर प्रधानमन्त्री ओलीलाई सोधेका छन् । प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन् । लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे ।
‘आज सर्वत्र भ्रष्टाचार, अराजकता र वेथितिले अघि बढेको देखिन्छ । गम्भीर समीक्षा नगर्ने हो भने निकै ठुलो विस्फोटतिर जाने अवस्था छ ’, प्रचण्डको भनाई छ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शिक्षा विधेयक लगायत अन्य विधेयकहरूमा भएका चलखेलमाथि अवाञ्छित चलखेलले नेपाली जनतालाई लज्जित बनाएको बताए । दुई ठुला दल मिलेर जे गरे पनि हुन्छ भने जसरी संसद्को हुर्मत लिनु दुर्भाग्य र खेदजनक रहेको प्रचण्डले बताए ।
उनले वर्तमान सरकार बन्दै आफूले सुशासनको डरले बनेको भनेर टिप्पणी गर्दै गर्दा सत्ता छोड्नु पर्दाको पीडा र छटपटी भनिएको भन्दै प्रधानमन्त्रीले खरानीको डल्लो नभएको र दुई तिहाइको सरकार हो हेक्का रहोस् भनेर गरेको टिप्पणी एक वर्ष पुग्दा सरकार बिचौलियाको स्वार्थमा छ भन्ने कुरा पुष्टि भएको बताए । ‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर सत्तारुढ दलकै नेता कार्यकर्ताले भनिरहनुभएको छ’, उनले भने, ‘सरकार सङ्ख्याको भरमा टिकेको त छ तर जनताको भरोसा समाप्त भएको छ ।’
उनले भने,‘उहाँ प्रधानमन्त्रीले भन्नुभएको थियो चित्रगुप्तलाई बयान दिन तयार छु। यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीले स्मरण गर्नुभएको होला। अहिले त जहाँ सरकार त्यहँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीले के जबाफ दिनुहोला ।’ उनले अहिलेको सरकार भ्रष्टाचारी र विचौलियाको संरक्षणको लागि बनेको यसको व्यवहारले पुष्टि गरिसकेको आरोप लगाए ।