काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवर्ताको लागि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा अहिले दुई नेताबीच छलफल चलिरहेको छ ।
भेटवार्तामा कांग्रेसबाट गृहमन्त्री रमेश लेखकपनि सहभागी छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सकिएको भोलिपल्ट देउवाले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । कांग्रेसले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । तर, सरकारको प्रभावकारितामा प्रश्न उठाएको छ ।
पदाधिकारीहरुले सरकारको गति बढाउनको लागि मन्त्रीहरु फेर्नुपर्ने आवाज उठाएका छन् । पार्टीको हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयसहित देउवा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । सरकारको एक वर्षपनि पुग्न लागेकोले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताईएको छ ।
अहिले मन्त्रिपरिषद् पूनर्गठनको पनि चर्चा चलिरहेको छ । हालै नागरिक उन्मुक्ति पार्टीले समेत सरकारको समर्थन फिर्ता लिएको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि फिर्ता लिने निर्णय गरिसकेको छ । यस्तोमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ। यद्धपी नाउपाका संरक्षक रेशमलाल चौधरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग निरन्तर सम्वादमा छन् । नाउपालाई पनि विश्वासमा लिएर अघि बढ्ने ओली–देउवाको चाहना छ ।