काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधिसभाबाट घोषणा भएको छ ।
समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेको सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा जानकारी दिए ।
सभामुख घिमिरेका अनुसार संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) बाट १–१ जना सदस्य छन् ।
सभामुखले वाचन गरेको नामावलीअनुसार समितिमा नेपाली कांग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन् । नेकपा ( माओवादी केन्द्र ) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् ।
शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले बताए ।