काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस उम्मेदवार अफताब आलमका काकाको घरमा बम विस्फोट भयो । उक्त घटना बाहिरिने डरले आलम लगायतले घाइतेहरूलाई ज्युँदै नजिकैको इँटाभट्टामा पोलेको प्रहरीको आरोप थियो । त्यस क्रममा मृतकहरूलाई पनि इँटाभट्टामा हालिएको थियो ।
उक्त घटनामा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दियो । घटनाको १५ वर्षपछि अनुसन्धान थाल्दा धेरै प्रमाण लोप भइसकेका थिए । जाहेरी दिने पीडित आमाको गोली हानी हत्या भएको थियो । जसोतसो निकै कठिनाइका साथ प्रहरीले प्रमाण जुटाएर अभियोजन गरेको घटनामा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतको वीरगञ्ज इजलासले आरोपितहरूलाई सफाइ दिएको हो ।
सो क्रममा उक्त घटनाका साक्षी सोही इँटाभट्टामा काम गर्ने भारतको बिहार सीतामढी घर भएका गौरीशंकर राम चमार आइतबार काठमाडौं आइपुगेका छन् । उनले काठमाडौंस्थित रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाको विवरण सुनाएका छन् ।
आलम प्रकरणमा उच्चको अनौठो ठहर( ‘इँटाभट्टामा जलाइएकाहरूको लास भेटिएन, हत्या भन्न मिलेन’ । उनी अझै पनि आलमले आफूलाई मार्छ कि जस्तो लागेको सुनाउँछन् । ‘आलम छुटेकोमा मलाई दुस्ख लाग्यो । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो,’ चमारले भनेका छन् ।
उक्त दिन आफू इँटाभट्टामा काम गर्दै गरेको सुनाउँदै हप्ताको पैसा लिन उक्त घरमा गएको बताएका छन् । उनीसँगै तीनजना आलमको काकाको घर छेउमा पुग्नासाथ बम विस्फोट भएको उनले बताएका छन् । ‘घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ,’ चमारले भनेका छन् । उनलाई एकपटक पनि के भएको भनेर आलमले अहिलेसम्म सोधेका छैनन् । ‘आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्यो,’ उनले भनेका छन् ।
उनले आफूलाई बम लागेको पनि भनेका छन् । आलम छुटेपछि उनलाई अब आफ्नो ज्यानको सुरक्षाको पनि चिन्ता छ । त्यसवेला घरमै गएर आलमका मान्छेहरूले धम्की दिएको सम्झिँदै आफूलाई आलमले मार्छ कि भन्ने डर भएको उनी बताउँछन् । ‘म घरमा नहुँदा आलमको मान्छे गएर मेरो आमालाई भनेको छ– तेरो छोरा त गयो अब । दुई साल, चार साल, पाँच साल बितेपछि बाँच्दैन,’ उनले त्यसवेला दिइएको धम्की सम्झिँदै भने, ‘बम फाटेर हामीलाई यस्तो पीडित बनाएको त्यस्तो मान्छे छुट्यो । आज म सरकारसँग निवेदन गर्छु त्यस्तो मान्छेलाई छाड्नुभएन । कडाभन्दा कडा सजाय दिनुपर्यो ।’ त्यसदिन आलमको घरमा कति जना मानिस थिए भन्ने सवालमा उनी बताउँछन्, ‘त्यहाँ धेरै मान्छे थिए ।’