हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आजै पास गर्ने तयारी गरिएको छ। आज बस्ने प्रदेश सभाको बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२? ०८३ को बजेट पारित गर्ने तयारी गरिएको हो। बजेट माथिको विवादका कारण गत असार १२ गतेदेखि पटक पटक अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक शुक्रबार दिउँसो र शनिबार अबेर गरेर बसेको थियो।
शुक्रबार बजेट वक्तव्य माथि छलफल गरेर विनियोजन विधेयक पेस गरे पनि प्रतिपक्ष दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो। शनिबार बिहानै दलहरूबीच छलफल गरे पनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ संसदमा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो।
त्यसलगत्तै सञ्चालन भएको प्रदेशसभा बैठक बजेटको पूरक प्रस्ताव र विनियोजन विधेयक पेस गरी छलफल गरिएको थियो। छलफल पश्चात् सभामुख भुवन कुमार पाठकले खर्च कटौतीको प्रस्ताव माग गरेर प्रदेशसभा बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित गरेका थिए। सभामुख पाठकका अनुसार आइतबार मन्त्रालयगत् छलफल, मन्त्रीहरूको जवाफसहित खर्च कटौतीको प्रस्ताव माथि निर्णय गरेर बजेट पास गर्ने तयारी छ।
यसैबीच , नेपाली कांग्रेस संसदीय दलले शनिवार राती नै विज्ञप्ति जारी गरेर आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले आजका लागि बोलाइएको प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन्।