काठमाडौँ । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् । आज जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागिरहेको बताए । यसको नेतृत्व अध्यक्ष प्रचण्डले गरिरहेको उनको भनाइ छ ।
प्रचण्डलाई स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीहरूले सहयोग गरिरहेको पनि उनले बताए । वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरू पनि रहेको उनको आरोप छ । तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको महासेठले बताए ।
सचिव महासेठले देशमा अहिलेको गठबन्धनको विकल्प नरहेको समेत बताए । पार्टी अध्यक्ष ओली र भण्डारीको बीचमा अन्तरविरोध बढेको भनी आइरहेका समाचारहरुमा कुनै सत्यता नरहेको उनले बताए । ‘उहाँले नवीकरणमात्रै गर्नुभएको छ । म सक्रिय राजनीतिमा आउछु भन्नुभएको छ । तर, कसरी अगाडि बढ्ने केही कुरा गर्नुभएको छैन ।
अहिले जुन प्रकारले बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको छ, कार्यकर्ताहरु कित्ताकाट भइरहेका छन् भन्ने समाचारहरु आइरहेका छन् । यसमा कुनै पनि सत्यता छैन,’– उनले भने ।