काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको कसैले प्रमाणित गरेको खण्डमा जस्तोसुकै बलिदानी गर्न तयार रहेको बताएका छन् । आज ( शुक्रबार ) नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको ५औं अधिवेशनलाई सम्बोधन गर्दैै उनले आफूले केही पनि नबिराएकाले डराउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।
उनले आफूलाई अदालत र न्यायको जित हुन्छ भन्ने कुराको विश्वास रहेको बताए । ‘मेरो एउटा मान्यता छ– नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तिका एक जना मान्छेले मात्रै पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु,’– अध्यक्ष नेपालले भने ।
उनले आफू कहिल्यै पनि अनुचित कुराको पक्षमा नरहने बताए । उनले आफू जहिल्यै पनि नियम, अनुशासन र विधिको पक्षमा रहेको बताए । पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीतर्फ लक्षित गर्दै उनले आफूले जसलाई उकास्यो त्यही मान्छेले नोक्सानी गर्ने गरेको बताए ।