कैलाली । सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा गएरातिदेखि परेको अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न भएका छन्। वर्षापछि धनगढीको मुख्य सडक क्षेत्र, रातोपुल, हसनपुर, शिवनगर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन्। रातोपुल क्षेत्रमा रहेका दर्जन पसलमा पानी पसेपछि व्यापारीहरू समस्यामा परेका छन्। बिहानै पसलमा पुगेका व्यापारीहरू पानीको सतह बढिरहेको देखेर सामान जोगाउन प्रयासरत छन्।
टोलका बासिन्दाहरू घरभित्र पानी पसेपछि बाहिर सडकमा आएका छन्। नालाको पानी टोलभित्र पसेको स्थानीयहरूले बताएका छन्। बिहानैदेखि घरभित्रका सामग्री जोगाउन समस्या भएको र पानीको निकास नहुँदा जनजीवन प्रभावित भएको उनीहरू बताउँछन्। अविरल वर्षाका कारण जनजीवन मात्र होइन, शैक्षिक गतिविधिमा पनि असर परेको छ। ऐश्वर्य विद्या निकेतन लगायतका विद्यालयहरूले एक दिनका लागि पठनपाठन स्थगित गरेका छन्। ऐश्वर्य विद्या निकेतनका निमित्त प्राचार्य सञ्जय पन्तद्वारा जारी सूचनामा विद्यालय परिसर जलमग्न भएको र विद्यार्थी तथा शिक्षकहरूको आवतजावतमा समस्या भएपछि आज एक दिन विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ।
यसैबीच, सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा बेलौरीको शान्तिपुरमा २६४।६ मिलिमिटर र कृष्णपुरमा १८४ मिलिमिटर वर्षा मापन भएको छ। महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। विभागले नदी तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले पनि नदी र खोलानालाको सतह सतर्कता तह पार गर्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। प्रहरीका अनुसार हालसम्म मानवीय वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन तर सुरक्षाका निकायहरू तयारी अवस्थामा छन्। देशभर मनसुनी वायूको प्रभाव कायम रहँदा सुदूरपश्चिम प्रदेशमा अझै केही घण्टा निरन्तर वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।