काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । आज बस्ने बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्नेछ । बैठक कति बजे बस्ने भन्ने तय नभएपनि आजै बसेर निर्णय हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनले भने, ‘नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड छ । तर बाहिर आएजस्तो आज ५ बजे नै भनेर फिक्स भएको छैन् । बैठकले निर्णय गर्छ ।’ यो वर्ष शिक्षकहरुको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो । पछि सरकारले आन्दोलनरत शिक्षकहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि परीक्षण सुरु भएको थियो ।
यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।