जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर अन्तर्राष्ट्रिय स्तरमा पाउने सफलताले देशको गौरव बढाउने भएकाले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्। जनकपुरधाममा मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो केही समय यता मधेशका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरिरहेको सफलताले प्रदेशको गौरव बढाउने काम गरेकाले खेलाडीको सम्मानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
मधेशको लोकप्रिय खेलको रुपमा रहेको कबड्डी, क्रिकेटसहित अन्य खेलकुदको विकासका लागि पूर्वाधारको निर्माणका साथै खेलाडीलाई प्रशिक्षणसहितको सुविधा प्रदान गर्न बजेट विनियोजन गरिएको बताए।
मधेश प्रदेश सरकारको आयोजनामा आजदेखि जनकपुरधाममा मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा सात प्रदेशका खेलाडी सहभागी छन्। प्रतियोगिता असार १४ गतेसम्म चल्ने मधेश प्रदेशका खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानूले बताए।