काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
छलफलमा उपसभामुख इन्दिरा रानामगर पनि सहभागी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेर सदनमा विरोध गरिरहेका छन् । उनीहरूको विरोधका बिच सभामुख घिमिरेले शुक्रबार र आइतबार सदन सञ्चालन गरेका थिए ।