मुग्लिन । मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा ५३ प्रतिशत काम सम्पन्न भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन–पोखरा सडक योजना ( पश्चिम खण्ड) ले जनाएको छ।
योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र भएको बताए। पश्चिम खण्डमा तीन किलोमिटर एकतर्फी कालोपत्र बाँकी छ र जेठ मसान्तसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य छ।
पश्चिम खण्डमा १२ मध्ये १० पुल र १०० मध्ये ९२ कल्भर्ट निर्माण सम्पन्न भएका छन्। चार सय २४ विद्युत् पोल हटाउन बाँकी छ, जसले काममा ढिलाइ भएको कुँवरले बताए। तालचोकदेखि आदर्शचोक र डाँडाको नाकदेखि विजयपुरसम्मका पोल हटाउन ढिलाइ भएको छ। एक साताभित्र पोल हटाउने प्रतिबद्धतापछि असार मसान्तसम्म कोत्रेदेखि सेती पुलसम्म चार लेनको काम सक्ने उनले बताए।
यो खण्डको सम्झौता २०७८ जेठ ३ मा भएको थियो र काम २०८२ पुस १६ सम्म सक्ने म्याद छ। ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले सात अर्ब ४० करोडमा पाएको छ। पूर्वी खण्ड ( आँबुखैरेनी–जामुने ) मा ८५ प्रतिशत काम सकिएको छ। इन्जिनियर विष्णुप्रसाद पाण्डेले यो खण्डमा कालोपत्र लगभग सकिएको र मादी पुल नजिक र विमलनगरमा एकतर्फी कालोपत्र बाँकी रहेको बताए। दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा छ।
पूर्वी खण्डको म्याद तेस्रो पटक थपिएको छ र २९ जेठसम्म काम सक्ने लक्ष्य छ। यो खण्डको काम २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि सुरु भएको थियो। ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। २०२६ मा रेखाङ्कन भएको यो सडकमा सवारी चाप बढेपछि एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेन बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ।