काठमाडौँ । अवरुद्ध प्रतिनिधिसभा बैठक चल्न दिनेरनदिने भन्ने विषयमा छलफल गर्न जारी विपक्षी दलहरूको बैठक नसकिएकाले सदन सुरु हुन ढिलाइ भइरहेको छ । दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक घण्टा ढिला हुँदासम्म पनि सुरु हुन सकेको छैन ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले विपक्षी दलहरूको बैठकका कारण सदन सुरु हुन ढिलाइ भइरहेको जानकारी दिए । ‘प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुख ज्यूलाई लाई जानकारी दिनुभएको छ । सभामुख ज्यू निर्णय कुरेर बसिरहनु भएको छ,’ प्रेस संयोजक अधिकारीले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा भइरहेको सेटिङमा नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन आयोग बनाउनु पर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।