काठमाडौं । विपक्षी दलको बैठकले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिशोध राखेर भ्रष्टाचारका मुद्दा दर्ता गरेको निष्कर्ष निकालेको छ ।
संसद भवन नयाँ बानेश्वरस्थित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरे ।
माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको प्रतिशोधको गन्ध आएको दाहालको आरोप छ । उनले माधव नेपालले नै अदालतको विश्वास गर्ने भनेको पनि बताए । उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको बताए ।
‘तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत निर्णय नै हो । त्यसैमा फेरि प्रवेश गरेको छ सायद अख्तियारले जवाफ देला’, उनले भने ‘यहीँ हो भने कोही पनि छानबिनको दायरमा आउन सक्ने भयो ।’