काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । नेपालमा दलित समुदायमाथि हजारौँ वर्ष पहिलेदेखि हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ साल जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो ।
उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।दिवसको अवसरमा राष्ट्रिय दलित आयोग र सामाजिक संघसंस्था, राजनीतिक दलका भातृ संस्थाहरू र दलित अधिकारकर्मीहरुको अगुवाईमा देशभरि विभिन्न्न कार्यक्रमहरू हुँदैछन् । दिवसको अवसरमा बुधबार राष्ट्रिय दलित आयोगले काठमाडौँमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्दैछ ।
नेपाली कांग्रेसको दलित समन्वय तथा सहजीकरण विभागले पनि सानेपास्थित केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सभापति शेरबहादुर देउवासहित नेताहरूले सम्बोधन गर्ने छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रनिकट नेपाल दलित मुक्ति मोर्चाले पनि विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । सरकारले जातीय विभेद र छुवाछूत अन्त्यको घोषणा गरेपनि समाजमा दलित समुदायमाथि अझै पनि विभेद र बहिष्करण भोग्दै आएका छन्।