काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् ।
बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो । सहमतिका लागि सभामुखले सत्ता र प्रतिपक्षी संयुक्त छलफल आयोजना गरेका थिए । उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी बैठकमा सबै दल आआफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न नसकेको हो ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सदनमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिन पाउनुपर्ने अडान राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएपछि सहमति जुट्न सकेन ।
भिजिट भिसाको नाममा करोडौं रुपैयाँ लिएर नेपाली युवालाई विदेश उडाउने गरेको घटना सार्वजनिक भएपछि त्यसमा गृहमन्त्री समेत संलग्न रहेको आरोप विपक्षीहरूले लगाएका छन् । सोही आरोपमा जवाफ दिन सदनमा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले लगातार अवरोध गरेपछि सभामुखले आधा घण्टा रोकेर सहमतिको प्रयास गरेका थिए । सहमति नजुटेपछि उनले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरिएको सूचना टाँस्न लगाएर पुनः सहमतिको प्रयास गरेका थिए ।