काठमाण्डौं । आज गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले अवरोध गरेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। मंगलबारको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुखले सहजीकरणका लागि छलफल बोलाएका हुन्।
आज करिब १२ बजे सुरु भएको बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदले उठेर नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा मागेका थिए। सभामुखले पटकपटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीले विरोध कायमै राखेपछि ३० मिनेटको लागि बैठक स्थगित गरेका थिए। २० मिनेट चलेर आधा घण्टाका लागि स्थगित बैठक पछि २स्३० सम्मका लागि सूचना टाँस गरेर स्थगित गरियो।
तर अझै बैठक सुरु हुन सकेको छैन। सभामुख, उपसभामुख र दलका प्रमुख सचेतकबीच छलफल जारी छ। सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन् । आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न गृहमन्त्री लेखकले बोल्न पाउनु पर्ने उनीहरूको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएका छन् । सभामुख घिमिरेले सदन खुलाउने प्रयास जारी राखेपनि अझै सहमति जुट्न सकेको छैन ।