ललितपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ महिनाको अन्त्यसम्ममा पूरा हुने बताए। जेठ भरीमा निर्माण पूरा गरी फ्लाइओभरबाट सवारी साधन सञ्चालन हुने बताए। आइतबार बिहान फ्लाइओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरू चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए।
अब पनि ढिलाइ गर्ने छुट छैन,ु मन्त्री दाहालले भने, परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्यसम्ममा गाडी चल्नु पर्छ। यो एउटा प्रतिक्षाको आयोजना पनि हो। फ्लाइओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो। फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक कारण समस्या भएको र त्यो समस्या समाधान गरी सकेको बताए। यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाइ ओभर महत्त्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ। हाल आवश्यक भागमा कालोपत्रेको काम भइ रहेको छ। आशिष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाइओभर निर्माणको काम गरिरहेको छ। १७ करोड ६ लाख ८८ हजार रूपैयाँको लागतमा निर्माण सुरू भएको फ्लाइओभर सुरू ठेक्का सम्झौता बमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनु पर्ने थियो। तर, निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई निर्माण भइरहेको हो।