काठमाण्डौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड युनिभर्सिटीलाई विदेशी विद्यार्थीहरूलाई भर्ना दिन सक्ने योग्यता खारेज गरेको छ। हार्वर्ड युनिभर्सिटीमा हाल झन्डै ६ हजार ८०० विदेशी विद्यार्थीहरू अध्ययनरत छन्। अमेरिकी होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार अबेर राति होमल्यान्ड सेक्युरिटी विभाग ९डिएचएस० लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन तत्काल रद्द गर्न आदेश दिएकी हुन्।
हार्वर्डले विदेशी विद्यार्थी भर्ना दिने अधिकार पुनः पाउनको लागि ७२ घण्टाभित्र हाल अध्ययनरत विदेशी विद्यार्थीहरूको विवरण पेस गर्नुपर्नेछ। अन्यथा, ती विद्यार्थीहरूले अरू संस्थामा स्थानान्तरण लिनुपर्नेछ, नत्र तिनीहरूलाई अमेरिका छोड्नुपर्ने हुन्छ। पछिल्ला केही दिनदेखि हार्वर्ड र अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको अभिलेख सम्बन्धी विवाद झेलिरहेका थिए। डिएचएसले अप्रिलमा चेतावनी दिँदै भनेको थियो, यदि हार्वर्डले ३० अप्रिलसम्म विदेशी विद्यार्थीका अवैध वा हिंसात्मक गतिविधिका सबै अभिलेख पेस नगरेमा, त्यसका ‘एसइभिपी’ सर्टिफिकेशन खारेज गरिनेछ। हार्वर्डले उपलब्ध गराएको विवरणबाट प्रशासन सन्तुष्ट थिएन।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी नोएमले एक्समा मा पत्र सेयर गर्दै लेखेकी छन्, हार्वर्डले क्याम्पसमा हिंसा, यहुदी विरोधी सोच र चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वयलाई प्रोत्साहन दिएको छ। विदेशी विद्यार्थीबाट करोडौँ डलर शुल्क लिने विशेषाधिकार हो, अधिकार होइन। हार्वर्डलाई थुप्रै मौका दिइयो, तर उसले कानुनको पालना गरेन। यो निर्णय अरू विश्वविद्यालयहरूका लागि चेतावनी हो।
उनले आरोप लगाइन् कि हार्वर्ड प्रशासनले अमेरिकी विरोधी र आतङ्कवाद समर्थक आन्दोलनकारीहरूलाई यहुदी विद्यार्थीहरूलाई दुर्व्यवहार गर्न र आक्रमण गर्न अनुमति दियो, जसले क्याम्पसलाई असुरक्षित बनायो। तीमध्ये धेरै विद्यार्थी विदेशी थिए।हार्वर्ड युनिभर्सिटीमा करिब २७ प्रतिशत विद्यार्थीहरू विदेशी मुलुकका छन्। हार्वर्ड युनिभर्सिटीले ट्रम्प प्रशासनको कारबाहीलाई अवैधानिक भन्दै कडा आलोचना गरेको छ। युनिभर्सिटीले भनेको छ, हार्वर्डमा १४० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययन गर्छन्।
हामी अन्तर्राष्ट्रिय विद्यार्थी तथा स्कलरहरूको भर्ना योग्यताको रक्षा गर्न प्रतिबद्ध छौँ। हार्वर्डले भनेको छ, हामी आफ्ना विद्यार्थीहरूको सहयोगमा जुटिरहेका छौँ। यो प्रतिरोधात्मक कारबाही हार्वर्ड समुदाय र देशलाई क्षति पुर्याउने खतरा हो। यो शैक्षिक तथा अनुसन्धान मिसन कमजोर पार्ने प्रयास हो।