काठमाडौं । जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्ष भन्दा मुनीका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् ।
जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम अवस्था बदल्न व्यवस्था परिवर्तन किन रु युवासँग राप्रपा दिइएको छ । सो कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए । राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो रु अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नै पर्ने आवश्यकता किन हो रु राप्रपाले भनेको राजसंस्था कस्तो हो , हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजी गर्नुपर्ने कारण के हो रु आन्दोलनमा युवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रूपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् ।
राप्रपाले बोकेका राजनीतिक एजेन्डाका साथै अन्य आर्थिक, सामाजिक एजेन्डा र नीति के के हुन् रु आन्दोलनपछिको मार्गचित्र के हो रु भन्ने बारेमा पनि युवाहरूले जिज्ञासा राख्न सक्ने गरी कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ । ‘राप्रपाले राजाको मुद्दा मात्र बोक्छ, राजा भनेको कस्तो राजा हो ? दैनिक जनजीविकासँग सम्बन्धित राप्रपाका एजेन्डा र नीति के हुन् भन्ने बारेमा आजको पुस्तालाई बुझाउनुपर्ने आवश्यकता छ । यो व्यवस्था विरुद्ध सडकमा किन आउने भन्ने बारेमा युवाहरूलाई जागृत गराउने प्रयास हो,’ प्रमुख रिमालले भने ।
राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरूलाई आमन्त्रित गरेको छ । राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने राप्रपाले विश्वास लिएको छ। यसअघि पनि राप्रपाले प्रबुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरू आयोजना गरिरहेको छ ।