काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । शनिबार प्रहरीले पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक ( डिएसपी ) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरे । खनालले अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको बताए । ‘पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । शनिबार बिदा भएकाले आइतबारदेखि आवश्यक कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने।
यसैबीच, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले अमालकोट कचहरीभित्रै जुवातास खेल्नेहरू पक्राउ परेको सूचना आफूले पाएको बताए । डा.थापाले प्रहरी अनुसन्धान सकिएपछि कोषको कर्मचारी सेवा नियमावलीअनुसार कारबाही अघि बढाइने बताए । ‘सात जनामध्ये को दोषी, को निर्दोष भन्ने कुरा प्रहरी अनुसन्धानपछि थाहा हुने नै छ । कोषको आफ्नै नियमावली छ । पशुपतिनाथ मन्दिर परिसरमै जुवातास खेल्नेमाथि नियमावलीअनुसार कारबाही हुन्छ,’– डा.थापाले भने ।