सोलुखुम्बु । गृहमन्त्री रमेश लेखकले सगरमाथा आधारशिविर क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। पर्यटकीय सिजनमा आरोहीहरूको अवस्था बुझ्न र शान्ति सुरक्षाको अवलोकन गर्न उनी शनिबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पुगेका हुन्।
उनले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकको सुविधाका लागि हेलिकप्टर उडानलाई निर्वाध बनाउन सरकार तयार रहेको बताए। शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारको नीति यस्ता सेवालाई सहज र व्यवस्थित बनाउन केन्द्रित रहेको स्पष्ट गरे। गृहमन्त्री लेखकले भने, ‘सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ।’
हालसम्म सगरमाथा क्षेत्रमा उद्धारबाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने स्थानीय माग छ। खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गरेको छ। तर, पर्यटन व्यवसायीहरूले अत्यधिक उडान प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको भन्दै नियमनसहितको स्वतन्त्रता मागेका छन्। अन्तरक्रियामा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली सगरमाथा क्षेत्रका समस्याबारे जानकार रहेको बताए। उनले समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।