काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) ले आजदेखि ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गर्दैछ । सुदूरपश्चिमको बैतडीस्थित पाटनमा शुरू हुने अभियानको बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। शनिबार अछामको साफे बगरमा जनजागरण अभियानको कार्यक्रम आयोजना गर्नेछ।
जेठ महिनाभरि अभियान सञ्चालन गर्ने माओवादीको लक्ष्य छ । कार्यक्रमको स्वरूपअनुसार मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले १(१ स्थानमा सभा आयोजना गर्नेछन्। त्यस्तै, जिल्ला समन्वय समितिहरूले १÷१ स्थानमा जनसंवाद कार्यक्रम सञ्चालन गर्नेछन् । कोशी प्रदेशका जिल्लाहरूमा हाल भइरहेको जनसभाहरूलाई यसै अभियानको हिस्सा बनाइनेछ भने बाँकी जिल्लामा उपयुक्त समयमा जनसभा गर्ने माओवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अभियानमार्फत् माओवादीले पुष्पलाल लोकमार्गसँग जोडिएका जनसमुदायसँग प्रत्यक्ष संवाद, राजनीतिक सन्देश प्रसार, तथा स्थानीय समस्या पहिचान गर्ने उदेश्य बोकेको छ । माओवादी अध्यक्ष दाहालले, ‘भर्खरै सम्पन्न तराई–मधेस जागरण अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन् ।’यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो ।