काठमाडौँ । सरकारले गभर्नर छनोटका लागि उपप्रधान एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री पौडेलको प्रस्तावमा पुरानो समिति खारेज गरी नयाँ गठन गरिएको हो ।
अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नर मध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् । यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामा पछि सो पदमा पाण्डे आएका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया०को व्यवस्थाअनुसार यसअघि गत चैत ११ मा सरकारले गभर्नर सिफारिस समिति गठन गरेको थियो ।
एक महिनासम्म पनि बैठक नबसेको, गभर्नर छनोटमा समितिको भूमिका नरहेको भन्दै सुरुको समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि उनको स्थानमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको थियो । कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको भनिएको छ । सोहीकारण पौडेलले समितिबाट राजीनामा दिइसकेका छन् ।
उनको राजीनामापछि बुधबारको मन्त्रिपरिषद्को बैठकमा विज्ञ सदस्य नियुक्त गर्ने चर्चा थियो । तर,अर्थमन्त्रीले पुरानो समिति नै खारेज गरेर नयाँ गठन गरौं भनेपछि सोही अनुसार गरिएको मुख्य सचिव अर्यालले बताए । समिति नै गठन पछि सरकारले (अर्थ मन्त्रालयले ) फेरि सबै सदस्यलाई पत्र दिनुपर्ने हुन्छ । जसअनुसार बिहीबारसम्म पत्र दिइसक्ने दाबी छ । गत चैत २५ गते देखि राष्ट बैंकमा गभर्नर पद खाली छ । कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिइएको छ ।