काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति भत्काउने र रूपान्तरित क्रान्तिलाई अगाडि लैजान खोज्दा आफूहरूमाथि षड्यन्त्र भएको बताएका छन्। २५औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर लैजाने चुनौती रहेको पनि औंल्याए। त्यसका लागि लागिपर्दा पार्टी र नेतृत्वविरुद्ध हमला हुने गरेको उनको भनाइ छ। ‘फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर लैजाने चुनौती हाम्रोसामू छन्। त्यसविरुद्ध लड्ने संकल्पसहित विचार, मुद्दा, वर्ग र समुदायलाई केन्द्रित गरेर एकचोटी यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीलाई अगाडि लैजान खोजेका छौं।
यसो गर्न खोजेबापत प्रतिक्रियावादी, अवसरवादी र षड्यन्त्रकारी हाम्रो विरुद्ध लागेका छन्’, उनले भने, ‘यो स्वभाविक रुपले भइपनि राख्छ। यो कुरा पनि हामीले गहिरो गरी बुझ्न जरुरी छ। त्यो पार्टी र लिडरसीपमा प्रतिक्रियावादी, अवसरवादीले अन्य किसिमले हमला गर्छन्। सबै त्यसमा सचेत हुनुपर्ने हुन्छ।’ तर, यसो गर्न खोजेवापत प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने, भ्रम छर्ने, अनेक षडयन्त्रहरु गर्ने गरेको उनको भनाइ छ । यस्तो स्वभाविक रुपले भइरहने भन्दै उनले सकेसम्म इतिहासका राम्रा कामबाट प्रेरित भएर सचेत हुँदै अघि बढ्ने बताए ।