काठमाण्डौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी फेरि पार्टी एकताबारे छलफलमा जुटेका छन्। दुई पार्टीबीच आजै एकता गर्ने तय भएको भए पनि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएपछि एकता कार्यक्रम स्थगित भएको थियो।
तर, सर्वोच्च अदालतबाट पठाइएको पत्र अनाधिकृत भएको पाइएपछि रेशम आजै छुटेका छन्। रेशम छुटैसँग एकताबारे छलफल सुरु भएको हो। नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले स्थगित भएको पार्टी एकता भोलि नै गर्नेगरी छलफलमा जुटेको जानकारी दिए। ‘भोलि नै एकता हुन्छ,’ चौधरीले भने, ‘अहिले हामी बानेश्वरमा यसबारे छलफलमा छौँ।’
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पनि एकताबारे छलफल सुरु भएको बताए। जनमत पार्टी कार्यालय नजिकैको एक घरमा भएको बैठकमा नागरिक उन्मुक्ति पार्टीबाट संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु सहभागी छन्। त्यस्तै जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान लगायतका नेताहरु सहभागी छन्। अध्यक्ष सीके राउत भने केहीबेरपछि बैठकमा सहभागी हुनेछन्।