काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । ‘टीकापुरमा मरेकाहरू सम्झिएर माया लाग्यो, विष्टको भनाइबारे सर्वोच्चका एक अधिकारीले भने, ‘टीकापुरमा मारिएकाहरू सम्झिएर पत्र नलेखी मेरो मनले मानेन ।
विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको स्रोतले बतायो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले सर्वोच्च अदालतकै समन्वयमा विष्ट पक्राउ परेको बताए । रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र लेखेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।
डिल्लीबजार कारागारका जेलर पूर्णबहादुर खत्रीले सर्वोच्चबाट अर्को पत्र आउनासाथ रेशम चौधरीलाई थुनामुक्त गर्ने बताए । सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ।