काठमाडौं — मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फाउन्डेसन अध्यक्ष तथा मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीको खुलेर प्रशंसा गरेपछि, उनी एमालेको सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा तातेको छ।
आइतबार आयोजित सम्मेलनमा प्रमुख अतिथिको रूपमा बोल्दै ओलीले उषाकिरणको मन्तव्यलाई ‘गहन राजनीतिक चिन्तन’ भएको भन्दै उच्च सम्मान व्यक्त गरे। उनले भने, “मैले सभापतिलाई चिनेकै रहेनछु जस्तो लाग्यो, यति गहन विश्लेषण देखियो।” ओलीले उषाकिरणको भाषणलाई पत्रिकामा प्रकाशित गरेर पटक–पटक पढ्नुपर्ने सुझावसमेत दिए।
ओली सामान्यतया अरूको खुलेर प्रशंसा नगर्ने र प्रायः आत्मप्रशंसा गर्ने आरोप लाग्ने गरेको भए पनि, उषाकिरणप्रति देखाएको यस्तो समर्थनले एमालेभित्र नयाँ चर्चा चुलिएको छ — “के ओलीले उषाकिरणलाई सक्रिय राजनीतिमा ल्याउन चाहेका हुन्?”
यद्यपि, उषाकिरणले भने आफू तत्काल राजनीतिमा प्रवेश गर्ने कुनै योजना नभएको स्पष्ट पारिन्। सेतोपाटीसँग कुरा गर्दै उनले भनिन्, “म अहिले फाउन्डेसनकै माध्यमबाट मदन भण्डारीका विचार र दृष्टिकोण जनस्तरमा पुर्याउने काममा केन्द्रित छु। राजनीतिमा तुरुन्त सक्रिय हुने सोचिएको छैन।”
उषाकिरण एमालेकी पुरानी संगठित सदस्य हुन्। उनी २०६०–६१ सालदेखि एमालेमा आवद्ध छन् र हाल पार्टीको परराष्ट्र मामिला विभागकी सदस्य पनि हुन्। २०७८ सालदेखि उनी काठमाडौं जिल्ला कमिटीकी सदस्य बनेकी थिइन्।
उनी राजनीतिमा धेरै देखापर्दिनन्, तर फाउन्डेसनमार्फत जनस्तरमा सक्रिय रहेकी छन्। एमालेका भित्री वृत्तमा चाहिँ उनी कुनै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने चर्चा बेलाबेला उठ्ने गरेको छ। खासगरी काठमाडौं क्षेत्रमा एमालेको कमजोर उपस्थिति सुधार्न उनको नाम अगाडि सार्न सकिने आँकलन गरिएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंमा एमालेले निराशाजनक नतिजा भोगेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेससँग पछाडि परेको एमालेले काठमाडौ–९ बाहेक अन्य सबै क्षेत्रमा हार बेहोरेको थियो। यस्तो पृष्ठभूमिमा पार्टीभित्र नयाँ र चिनिने अनुहारलाई अघि सार्न खोजिएको संकेत नेताहरूले गरेका छन्।
तर उषाकिरण आफैंले भने चुनाव लड्ने, सांसद वा मन्त्री बन्ने आकांक्षा हाल नभएको दोहोर्याएकी छन्।
के प्रधानमन्त्री ओलीको प्रशंसा उषाकिरणलाई भविष्यका लागि तयार पार्ने संकेत हो? एमालेभित्रको आगामी रणनीतिले मात्रै यसको जवाफ दिनेछ।