काठमाडौं। नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षाकर्मी आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू आन्दोलन स्थल पुगेका छन्।
२७ दिनदेखि निरन्तर भइरहेको आन्दोलनलाई समर्थन गर्न अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र अन्य नेताहरू माइतीघरदेखि बबरमहल क्षेत्रसम्म आन्दोलनरत शिक्षकमाझ पुगेका हुन्।
यसैबीच, हिजोको विरोध कार्यक्रममा सुरक्षाकर्मीद्वारा गरिएको बल प्रयोग र प्रहरी हस्तक्षेपप्रति तीव्र आलोचना भइरहेको छ। प्रहरीद्वारा गरिएको लाठीचार्ज र पानीको फोहराले एक पत्रकारसहित ६२ जना शिक्षकहरू घाइते भएका थिए, जसले सरकारप्रति चौतर्फी असन्तोष बढाएको छ।