पाल्पा । पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा गएराति जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
सर्वोत्तम सिमेन्टको खानी नजिकै लु १ ज २३७७ नम्बरको जीप जिप १५० मिटर तल खसेको हो । दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमाय भएको छ ।