रौतहट । रौतहट प्रहरीले बालकको हत्यामा संग्लन ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन मार्फत् उनीहरूलाई सार्वजनिक गरेको हो । वृन्दावन नगरपालिका– ७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा भेटिएको थियो ।
प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई गोली हानी हत्या गरिएको थियो । रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ ।
बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका(५ स्थित घरमा टीनको बाकसमा लुकाएको अवस्थामा भेटिएको घिमिरेले बताए । उनीहरूले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारिएको अवस्थामा गौरको एक वर्कशपमा भेटिएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको र यससम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।