काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो । छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’ वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठोस सहमति हुन नसकेको हो । मन्त्री पन्तले शिक्षकहरुले उठाएको माग सुनिसकेपछि आफूले सबै मागहरु पूरा गर्न सक्दो कोशिस गर्ने बताए ।
कम्तिमा संसदमा विद्यालय शिक्षा विधेयक प्रवेश गर्नुपर्ने र ग्रेडवृद्धि, मर्यादाक्रमलगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय भएपछि आन्दोलन के गर्ने भन्ने विषयमा सोच्ने सकिने उनको भनाइ छ । आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई राखेका थिए । मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइसकेको छैन । तर, वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।
शिक्षकहरू आन्दोलित भएको आज ८५ औं दिन भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन । यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।