काठमाडौँ । संघीय संसद्का दुवै सदनको बर्खे अधिवेशन भोलि अर्थात बैशाख १२ गते शुक्रबारदेखि शुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ । नेपालको संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि हुने अनुमान छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ । त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुने जनाइएको छ । यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पुर्याउन कोसिस हुनेछ ।
संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । त्यसरी नै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् प्रतिनिधिसभाको भोलि सुरु हुने बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद्को बजेट अधिवेशन भोलि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकमै प्रधानमन्त्री ओलीको सम्बोधन हुने छ । सरकारले संसद्लाई महत्व दिने र संसद्मा जनताका कुरा सम्बोधन गर्ने सन्देश दिनका लागि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेक ा हुन् । बजेट अधिवेशनको पहिलो दिन दलगत रूपमा पनि नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।