काठमाडौँ। जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।
यसैबिच परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गर्नुभएको छ । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
“नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ”, एक्समा उहाँले लेख्नुभएको छ ।
परराष्ट्रमन्त्री डा देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताउनुभएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् । रासस