काठमाण्डौ. । राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान हुने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) ले राष्ट्र बैंकको पत्र अनुसार प्रसाईंविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरी अनुसन्धान गर्न लागेको हो ।
प्रसाईं हाल जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । सीआईबी प्रवक्ता एवं एसपी सुधीरराज शाहीका अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं परिसरको हिरासतमा रहेका प्रसाईंलाई सीआईबीले समेत बयान लिने तयारी गरेको छ । प्रसाईंले होटल, अस्पताललगायतका व्यवसायका नाममा अर्बौंको ऋण लिएर दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरा तोड्दै गाडी हाँकेका थिए । प्रदर्शन उग्र रुप लिएपछि प्रसाईं भारत भागेका थिए । उनलाई चैत २९ गते पक्राउ गरी नेपाल ल्याइएको थियो ।