काठमाडौं। नेकपा ( एमाले ) बाट निष्काशित नेता डा.भीम रावलले शिक्षकहरु २० दिनसम्म सडक प्रदर्शनमा उत्रिँदा पनि समाधान खोज्न नसक्नुले सरकारको औचित्य सकिएको पुष्टि भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि असक्षम प्रमाणित भएको दाबी गरेका छन् । उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना र कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने समयमा शिक्षकहरूको सडक आन्दोलनमा आउँदा पनि सरकारले संवाद गरेर उपाय ननिकालेर सरकारले गैरजिम्मेवार चरित्र देखाएको उनको आरोप छ ।
विगतमा सरकारले गरेको सहमतिको पूर्ण कार्यान्वयन गर्दै शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौं केन्द्रीत सडक प्रदर्शनमा छन् । लामो समयदेखिको शिक्षकहरुको प्रदर्शनले नागरिकहरुको दैनिकी अस्तव्यस्त भएको छ । ‘सरकारले विद्यालय शिक्षा अस्तब्यस्त हुनबाट रोक्न सक्दैन भने यो सरकारको अौचित्य नै छैन।
नेपालको सामुदायिक शिक्षा ( सार्वजनिक शिक्षा) यसै पनि अत्यन्त कमजोर रहेको र विद्यार्थीहरू सके विदेश नभए निजी विद्यालयमा पढ्न जाने प्रवृत्ति बढेर शिक्षा क्षेत्र असमानता र समस्याको घर बन्दै गइरहेको स्थितिमा विद्यालयको उत्तर पुस्तिका परीक्षण, नयाँ भर्ना र कक्षा १२ को परीक्षा संचालन गर्नुपर्ने समयमा शिक्षकहरूको सडक आन्दोलन भएको २० दिन भइसक्दा पनि शिक्षकहरूलाई काममा फर्काउने गरी सरकारले वार्ता लगायत यथोचित उपाय निकाल्न नसक्नु गठबन्धन सरकार, विशेषतः प्रम केपी ओलीको चरम अयोग्यता तथा लाखौं विद्यार्थीहरू एवं जनताप्रतिको गैरजिम्मेवार चरित्रको नमूना हो । यही हो र सुशासन भनेको ? ’ प्रश्न गर्दै उनले भनेका छन् ।