काठमाडौं । चैत १५ गते तिनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाराप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उनले प्रदर्शनलाई उत्तेजक बनाउने भूमिका खेलेको कारण राज्यविरुद्धको कसुरमा म्याद थपी कानुनी कारबाही अगाडि बढाइएको थियो ।
तर स्वास्थ्यका कारण आवश्यक परेका बखत उपस्थित हुने गरी आइतबार राति हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । राप्रपाका महामन्त्री धवलशमशेर राणा भारत जाने तयारीमा रहेका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए ।
उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् । उनको फलोअपका लागि डाक्टरहरुले वैशाख १५ गतेको समय दिएको बताइएको छ । क्यान्सरको उपचारकै लागि भनेर प्रहरीले उनलाई गएराति रिहा गरेको थियो । उनलाई तीनकुने घटनामा संलग्न रहेको भनेर गत चैत १५ गते पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका थियो । उनलाई पत्नी प्रतिभा राणाको जिम्मामा रिहा गरिएको हो ।
प्रहरीले धवल परिवारलाई बेलुकी ५ बजेपछि बोलाएको थियो । तर, उनकी पत्नी ७ बजेपछि मात्रै पुगिन् । सबै प्रक्रिया सकिएर प्रहरी कार्यालयबाट निस्कँदा करिब ९ बजेको एसएसपी अधिकारीले बताए । उनी रिहा भए पनि उनीविरुद्धको मुद्दा विचाराधीन नै रहने छ ।