नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भ्रमणमा भारत पुगेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।
भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीलगायतका क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा यसअघि नै लगानी गरिरहेका व्यवसायीलाई लगानी विस्तार गर्न आग्रह गरे। ‘नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो,’ उनले भने, ‘सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर लगानी गर्नुहोस्।’
अर्थमन्त्री वाग्लेले नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधारलाई सरल र सहज बनाउँदै लगेको पनि बताए। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजाने प्रक्रियालाई कानुनी रूपमा सहजीकरण गर्न सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो। कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।
