काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ। कांग्रेसले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।
कांग्रेसका अनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी छन्। विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट जानकारी प्राप्त भएको कांग्रेसले जनाएको छ।
यही परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
