चितवन । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएको छ । आइतबार दिउँसो नदीमा राखिएको क्रुजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ । अहिले पुलमा उक्त क्रुजसिप आएर ठोक्किएको एसपी रामेश्वर पौडेलले जानकारी दिए ।
‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने । उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए । उनका अनुसार अहिले पुलबाट सवारी सञ्चालनमा रोक लगाइएको छ।
नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका छन्। बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई हेरेर पुलमा आवगमन बन्द गरिएको हो। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका सवारी साधन र यात्रुहरू रोकिएका छन्। भरतपुरको नारायणघाट तर्फ र नवलपुरको गैंडाकोटतर्फ यात्रु र पुल हेर्न आउनेको भिड छ।
