काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। कतिपय क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने बाढीका कारण दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनसमेत बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बाढीपहिरोले २२०, १३२, ३३ र ११ केभी क्षमताका प्रसारण तथा वितरण संरचनाहरूमा क्षति पुर्याएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सोही करिडोरको कुश्मा(नयाँबुटवल खण्डको प्रसारण लाइनमा फल्ट आउँदा करिडोरमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ४४ मेगावाटको सुपर मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको अपर दोर्दी, २० मेगावाटको नामार्जुन मादी र मोदीलगायतका जलविद्युत् आयोजनाहरूको उत्पादन ठप्प भएको छ। मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको र प्राविधिकलाई फिल्डमा खटाइएको जनाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले क्षतिको प्रारम्भिक विवरण संकलन, अवरुद्ध क्षेत्रको पहिचान तथा तत्काल मर्मतका लागि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको जजाानकारी दिए । ‘प्राकृतिक विपद्का कारण संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ,’ श्रेष्ठले भने, ‘अवरुद्ध भएका स्थानमा वैकल्पिक फिडर तथा अन्य उपलब्ध संरचनामार्फत विद्युत् सुचारु गर्ने प्रयास भइरहेको छ।”
भारी वर्षा र सडक अवरुद्ध भएका कारण कतिपय दुर्गम स्थानमा प्राविधिक टोली पुग्न कठिनाइ भएको प्राधिकरणले जनाएको छ । पहुँचमार्ग खुल्नासाथ मर्मत कार्यलाई थप तीव्र बनाइने श्रेष्ठले जानकारी दिए । प्राधिकरणले उपलब्ध वैकल्पिक व्यवस्थाबाट आपूर्ति निरन्तर गर्न सबै स्रोतसाधन परिचालन गरिएको स्पष्ट पार्दै विपद्को घडीमा संयमित रहन र ढलेका पोल तथा चुँडिएका तार नजिक नजान उपभोक्तालाई आग्रह गरेको छ।
