काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी– नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँधलाई विशेष निगरानीमा राखिएको छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रका कारण तीन दिनदेखि देशभर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण धाप बाँधको सुरक्षालाई लिएर चर्चा परिचर्चा हुन थालेपछि जलस्रोत तथा सिँचाइ विभागले निगरानी थालेको हो।
विभागले बाँधको नियमित निगरानी भइरहेको जनाएको छ। ‘हाल पछिल्लो केही समयदेखि वर्षाको मात्रा क्रमशः घट्दै गएको अवस्था रहेको छ,’ विभागले भनेको छ, ‘वर्षा घट्दै जाँदा बाँधमा आउने इनफ्लो समेत क्रमशः घट्न सक्ने अवस्था रहेकोले हाल जलाशयको पानीको सतह तथा पानीको लेभललाई विशेष निगरानीमा राखिएको छ।’ यससँगै जलाशयको पानी नियमित रुपमा व्यवस्थापन भइरहेको पनि विभागले जनाएको छ। जसले गर्दा कुनै जोखिम नरहेको र आत्तिनुपर्ने अवस्था नभएको विभागको भनाइ छ।
‘बाँधको अवस्था र जलाशयको पानीको मात्रा नियमित रूपमा प्राविधिक रूपमा निगरानी तथा व्यवस्थापन भइरहेको हुँदा हालको अवस्थालाई लिएर आम सर्वसाधारणले अनावश्यक रूपमा आत्तिनुपर्ने अवस्था नरहेको जानकारी गराइन्छ,’ विभागले भनेको छ। विभागका अनुसार, बाँधको सुरक्षालाई ध्यानमा राखिएको छ। त्यसैले बाँध फुट्न सक्ने भनेर गरिएको हल्लाको पछि नलाग्ने विभागले अनुरोध गरेको छ।
‘धाप बाँधको सुरक्षा तथा जलाशयको सुरक्षित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी आवश्यक सावधानी, पूर्व तयारी तथा निगरानीका कार्यहरू निरन्तर भइरहेको छ,’ विभागले भनेको छ, ‘आम सर्वसाधारणलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध छ।’
