काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। बिहीबार बिहान विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आगामी पाँच दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली लगायतका नदी प्रणालीमा पानीको बहाव बढ्ने आकलन गर्दै सतर्कता अपनाउन सङ्केत गरेको हो।
महाशाखाको बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा उल्लेख्य रूपमा तल रहेको छ। यद्यपि आज गतेदेखि १२ गतेसम्म यी सबै नदीहरूको बहाव निरन्तर बढ्ने क्रममा रहने बुलेटिनमा उल्लेख छ।
कोशी जलाधार अन्तर्गतका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीका साथै कन्काई र कमला नदीमा आजैदेखि जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ।
यसैगरी नारायणी, कर्णाली र महाकाली जलाधारका प्रमुख नदीहरूमा भने आज बहाव सामान्य मात्र बढ्नेछ। नारायणी प्रणाली अन्तर्गतका त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, बडिगाड र कालीगण्डकी तथा कर्णाली प्रणालीका ठुली भेरी, भेरी र पश्चिम सेती लगायतका नदीहरूमा असोज ९ गतेदेखि १२ गतेसम्म बहाव उल्लेख्य रूपमा बढ्ने महाशाखाले स्पष्ट पारेको छ। बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि भोलिदेखि लगातार चार दिनसम्म उल्लेख्य रूपमा बढ्ने जनाइएको छ।
ठुला नदीहरू बाहेक देशभरका साना नदी तथा खोलाहरूमा पनि आजैदेखि बाढीको जोखिम देखिएको छ। महाशाखाले एकैदिन पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको कालिकोटसम्मका दर्जनौँ जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।
कोशी प्रदेशका इलाम, झापा, मोरङ, सुनसरीदेखि मधेस प्रदेशका सप्तरी, सिरहा हुँदै पर्सासम्मका जिल्लाहरू बाढीको जोखिममा छन्। यसैगरी बागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुरसहित दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवन लगायतका जिल्लामा पनि बाढीको जोखिम औँल्याइएको छ।
गण्डकी प्रदेशका गोरखा, कास्की, मनाङ, मुस्ताङदेखि बागलुङसम्म र लुम्बिनी तथा कर्णाली प्रदेशका रुकुम, रोल्पा, बाँके, बर्दिया, सुर्खेत र जुम्ला लगायतका पहाडी तथा हिमाली जिल्लाहरू भई बहने साना नदीहरूमा पनि पानीको सतह बढ्नेछ। देशभरका यी क्षेत्रहरूलाई समेट्दै महाशाखाले ‘साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको’ जनाएको छ। लगातारको वर्षा र नदीहरूमा बढ्दो जलसतहलाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।
